किराती समुदायले आज आफ्नो महत्वपूर्ण चाड उभौली मनाउदै
धनकुटा । किराती समुदायले आज आफ्नो महत्वपूर्ण चाड उभौली मनाउदै छन् । प्रकृति पूजक यो समुदायले आज भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाउन लागेका हुन् ।
यहीँ अवसरमा धनकुटा सदरमुकाम, पााख्रीवास सहित विभिन्न स्थानको साकेला थानमा पूजाआराधना गरि यो पर्व मनाउन थालिएको छ ।
धनकुटा सदरमुकाम राई कुवा टोल स्थितको साकेला पार्कमा आजै आफ्नो पितृहरुको सम्झनामा फलैचाहरु राख्ने तयारी समेत गरिएको किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईले बताउनु भएको छ । उता पाख्रीवासमा पनि पूजाआराधनाका लागि तयारी भईरहेको किरात राई यायोक्खा नगर समितीले जनाएको छ ।
किराती समुदायले बाली लगाउनु भन्दा पहिला वालीनाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने गर्दछन्। उनिहरुले त्यसरी प्रकृतीको पूजाआराधना गर्दै मिठा परिकार बनाएर खाने गर्दछन् भने भव्य रुपमा साकेला नाच समेत नाचेर एक अर्कामा खुशी बाड्ने गर्दछन् ।


