‘हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून्’ : डा. उपेन्द्र महतो

काठमाडौ । गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” माथि आफ्ना सुझाव पेश गरेको छ । सोमबार सिंहदरबारमा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघसहित ब्रिटिस गोर्खा सैनिक र सरोकारवालासँग छलफल” गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो सुझाव पेश गरेको हो ।

उक्त अवसरमा संस्थापक अध्यक्ष डा. महतोले नेपालीलाई नेपालसँग जोडिराख्न नागरिकता अति आवश्यक रहेको बताउनुभयो । डा. महतोले गैरआवासीय नेपालीहरू र ब्रिटिस गोर्खा सैनिकहरूलाई आफ्ना सन्तानहरूले नेपाललाई ‘विदेश’ नठानून् भन्ने गम्भीर चिन्ता रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्ना छोरा–छोरीहरूको मनमा नेपाललाई मातृभूमिको रूपमा स्थापित गर्न र आमाबुबाको जन्मभूमिप्रति भावनात्मक नाता कायम रहोस् भन्ने उद्देश्यले नागरिकताको व्यवस्था सहज ढंगले गरिनुपर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिँदा कुनै अप्ठ्यारो नपर्ने स्पष्ट पार्दै भन्नुभयो, “हामीले हाम्रो जीवनकालमै नेपाल समृद्ध बनोस् भन्ने चाहना राखेका छौँ । गैरआवासीय नेपाली साथीहरू, ब्रिटिस गोर्खा साथीहरू सबैलाई एउटै चिन्ता छ — अब हामी २०–२५ वर्ष बाँच्छौँ होला, तर त्यसपछिका पुस्ताले नेपाललाई ‘विदेश’ नभनी, ‘यो मेरो मातृभूमि हो, मेरा आमाबुबा यहीँ जन्मनुभएको हो’ भनेर अनुभूति गरून् भन्ने चाहना हो । त्यसका लागि नागरिकताको विषय खुला मनले सहज रूपमा समाधान होस् भन्ने विश्वास लिएका छौँ ।”

डा. महतोले आर्थिक समृद्धि बिना सुशासन र दिगो विकास सम्भव नरहेको उल्लेख गर्दै, नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र सुनिश्चितता अपरिहार्य छ।”

उक्त छलफलमा रक्षामन्त्री मानवीर राईले संविधानका कतिपय जटिलता समय र परिस्थितिअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभयो । “संविधान अकाट्य भनेर भनेका छैनौँ समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ”उहाँले भन्नुभयो ।

यसअघि गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेपछि प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले एनआरएनएसहित सरोकारवालासँग छलफल गरेको हो ।

यसअघि गैरआवासीय नेपाली संघले आयोजना गरेको एनआरएन ग्लोबल कन्क्लेभ–२०२५मा समिति सभापति माननीय रामहरि खतिवडाले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि छुट्टै विधेयक ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

छलफलमा संस्थापक अध्यक्षसहित गैरआवासीय नेपाली संघका सहकोषध्यक्ष कृष्ण प्रसाद तिमल्सेना समेत सहभागी हुनुहुन्थ्यो । यस्तै एनआरएनए अभियन्ता आरके शर्मा, रविना थापा, चिन्तामणि सापकोटा, संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रकुमार राउत र नागरिकता निरन्तरता कार्यदलका फोकलपर्सन सरोज दाहालको उपस्थिति थियो ।

यसैबीच संघका अध्यक्ष डा. बद्री केसीले समितिलाई संघका तर्फबाट लिखित रुपमै आफ्नो सुझावहरु पेश गरेकोले यसपटक सरकारले प्रतिबद्धता जनाएअनुरुप सकारात्मक प्रतिफल आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।