माइतीघरमा आमरण अनशनमा बसेका दिक्तेलका मेयर भट्टराई वीर अस्पताल भर्ना
काठमाडौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई वीर अस्पतालमा भर्ना भएका छन् ।उनी काठमाडौंस्थित माइतीघर मण्डलामा केही दिनदेखि ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका थिए ।
अनशनमा बसेका भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि अनशन स्थलबाट उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो । उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउने जस्ता समस्या देखिएको छ ।
आफूले अघि सारेको ७ बुँदे माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै भट्टराई बुधबारदेखि आमरण अनशनमा बसेका हुन् । स्वास्थ्यमा समस्या देखिए पनि उनले स्वास्थ्यको जिम्मा आफैँ लिने कागज गरेका छन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने भन्दै उपचारमा संलग्न चिकित्सकले डिस्चार्ज दिन नमानेपछि भट्टराईले आफ्नो स्वास्थ्यको जिम्मा आफैँ लिने कागज गरेका हुन् ।
डिस्चार्ज भएर पुनः माइतीघरमै आमरण अनशन बस्ने उनको तयारी छ । बिहान मानवअधिकारकर्मीले भेटेको र अहिले स्वास्थ्य मन्त्री प्रदीप पौडेल वीर अस्पताल जाने तयारी छ ।जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानुन बनाउनु पर्ने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोड र नम्स तयार गरी कानुन बनाउनु पर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त कर लिन पाउने कानुन बनाउनु पर्ने लगायत माग उनको छ ।-बेतना दैनिक


