झापामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
झापा । झापामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मंगलबार राति १ जना महिलाको मृत्यु भएको छ ।
गौरादह नगरपालिका–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा अचानक उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो । आमालाई मृत फेला पारेपछि छोरा २५ वर्षीय सुशील नेम्वाङले शवलाई घरमा लगेर राखेका थिए ।
मृतकका पति ललित नेम्वाङको यसअघि नै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


