बिर्तामोडमा जुवा खेलिरहेको अवस्थामा १ लाख १४ हजार रुपैयाँभन्दा बढी नगदसहित ८ जना पक्राउ
झापा । झापाको बिर्तामोडमा जुवा खेलिरहेको अवस्थामा १ लाख १४ हजार रुपैयाँभन्दा बढी नगदसहित ८ जना पक्राउ परेका छन्। हिजो साँझ करिब ७ बजे बिर्तामोड–५ स्थित एक चिया नास्ता पसलमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिर्तामोड बसपार्क छिर्ने बाटो नजिकै सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया नास्ता पसलमा जुवा खेलिरहेका बेला छापा मारिएको थियो। घटनास्थलबाट प्रहरीले ६ बुङ खोलिएको तास, ६ बुङ नखोलिएको तास र नगद १ लाख १४ हजार ५५५ रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा इलाम ९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोक बस्ने ३८ वर्षीय तिर्थराज तामाङ, इलाम देउमाई–१ बरबोटे घर भई हाल अर्जुनधारा–११ बसपार्क बस्ने ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङ पाथिभरा याङबरक–२ थेचम्बु घर भई हाल बिर्तामोड–६ स्यालडाँगी बस्ने ४२ वर्षीय भुपालकुमार कटुवाल रहेका छन्।
त्यसैगरी, पाँचथर हिलिहाङ–८ भारपा घर भई हाल बिर्तामोड–५ किराँत चोक बस्ने २९ वर्षीय मनकुमार कटुवाल, पाँचथर फिदिम–४ थापाटार घर भई हाल बिर्तामोड–५ सगरमाथा टोल बस्ने ४९ वर्षीय हेमबहादुर थापा, झापा धरमपुर घर भई हाल बिर्तामोड–५ बसपार्क बस्ने ५१ वर्षीय गोपाल श्रेष्ठ, पाँचथर लालीखर्क घर भई हाल बिर्तामोड–६ बुट्टाबारी बस्ने ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ–७ घर भई हाल बिर्तामोड–५ बसपार्क बस्ने ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन्।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।


