मोरङमा हराएको १ सातापछि खोलामा भेटियो लिम्बुको शव
केराबारी । मोरङको केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बू हराएको १ सातापछि खोलामा मृत फेला परेका छन् ।
केराबारी–२ स्थित समेवा खोलामा बुधबार साँझ शव फेला परेको हो । लिम्बू असार १३ गतेदेखि हराइएका थिए । खोजतलासका लागि परिवारले प्रहरीमा निवेदनसमेत दिएको थियो ।
खोजी गर्ने क्रममा समेवा खोलामा शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
लिम्बूको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान अघि बढाएर घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ ।


