गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किंदा जलेर एक युवक घाइते
विराटनगर । मोरङको पथरीशनिश्चरेमा बुधबार राति आगलागी हुँदा जलेर युवक घाइते भएका छन् ।
पथरीशनिश्चरे नगरपालिका–५ गुराँस टोलका सुरेन्द्र साहको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट राति १०ः३० बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोठमा आगो सल्किनसाथ विद्युत लाइन पनि सर्ट भएको थियो । स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगो निभाउने क्रममा सुरेन्द्रका छोरा १९ वर्षीय अभिनाश साह घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाइते अभिनाशको रंगेली अस्पतालमा उपचार भइरहेको छ । शरीरका विभिन्न भाग जलेका उनको अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ । आगोले जलेर सुरेन्द्रको एउटा गाई मरेको छ ।
एउटा गाई र बाच्छी घाइते भएका छन् । आगोले गोठमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा करिब ६० हजार मूल्य बराबरको क्षति भएको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।-बेतना दैनिकबाट


