भोजपुरको साल्पासिलिछोमा पहिरोले ६ परिवार विस्थापित
भोजपुर । अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको उत्तरमा पर्ने साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् ।
केही दिनदेखिको लगातार वर्षाले घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि पीडितहरूलाई सुरक्षित स्थानमा सारिएको हो । चर्किएर घर बस्न अयोग्य भएपछि विस्थापित परिवारलाई अस्थायी रूपमा आफन्तको घर र स्थानीय क्लबको भवनमा राखिएको छ ।
प्रहरीका अनुसार विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार विस्थापित भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर उमेश यादवले वर्षासँगै पहिरोको जोखिम बढेपछि ६ परिवार विस्थापित भएको र विस्थापितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।


