याक्खा संघ र भाषा अध्ययन केन्द्र अमेरिका बीच समझदारी
काठमाडौ । नेपाल आदिवासी याक्खा संघ केन्द्रीय कार्य समिति काठमाडौ र वासिङ्टन बिश्वबिद्यालय भाषा अध्ययन केन्द्र अमेरिका बीच याक्खा भाषाको संरक्षण, सम्बद्र्धन, प्रबदद्र्धन र बिकासका लागि समझदारी भएको छ ।
यी दुई संस्थाहरू बीच गत बर्ष देखि अनौपचारिक छलफल हुँदै आएकोमा बि.सं.२०८२ साउन ७ (सन् २०२५ जुलाई २३) मा भएको औपचारिक बैठकमा आधारित बिषयहरूलाई आज २०८२ साउन २७ (अगष्ट १२) का दिन अन्तिमरुप दिँदै समझदारी भएको हो । बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधर्मि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका विभिन्न आदिवासी जनजाति मध्ये नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा सूचिकृत याक्खा जाति नेपालको संविधान २०७२ को धारा ३०६ मा ब्यवस्था भए बमोजिम अल्पसंख्यक समुदायको रुपमा रहेको र राष्ट्रिय जनगणना २०७८ अनुसार १७,४६० जनसंख्या रहेको छ ।
याक्खा जातिको पहिचान संगसंगै याक्खा भाषा, संस्कृतिको संरक्षण संवद्र्धन र विकास गर्न बि.सं.२०५७ सालमा स्थापना भएको नेपाल आदिवासी याक्खा संघले याक्खा नेपाली अङ्ग्रेजी शब्दकोश, ब्याकरण, याक्खा जातिका संस्कार–संस्कृति, याक्खा जातिको चिनारी लगायत याक्खा जाति संग सम्बन्धित विभिन्न अडियो भिडियो सामग्रीहरू प्रकाशन गराई याक्खा भाषाको बिकाशमा जोड दिँदै आएको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकाश केन्द्र सानोठिमी भक्तपुरको सहयोगमा याक्खा भाषाका कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तकहरू निर्माण गरी बि.सं. २०६५ देखि संखुवासभा र धनकुटाका सरकारी प्राथमिक तहका बिद्यालयहरूमा पठनपाठन गराउनमा सक्रिय रहँदै आएको छ । यसैगरी याक्खा भाषाको विकासमा जोड दिन इण्डिजिनियस टेलिभिजनबाट साप्ताहिक रुपमा याक्खारेन ओम्ना (याक्खा बस्तीको उज्यालो) कार्यक्रम र गोरखापत्र राष्ट्रिय दैनिक नयाँ नेपाल पृष्ठमा गत बर्ष देखि याक्खा भाषाका सामग्रीहरू समेत संप्रेषण हुँदै आएकाछन् ।
यिनै कुराहरू समेतलाई मध्यनजर गर्दै याक्खा भाषाको संरक्षण संम्बद्र्धनमा थप अध्ययन, अनुसन्धान र विकासका लागि नेपाल आदिवासी याक्खा संघ र वासिङ्टन विश्वबिद्यालय भाषा अध्ययन केन्द्र अमेरिका बीच समझदारी भएको छ । समझदारी पत्रमा उल्लेख भए अनुसार याक्खा भाषालाई प्रवद्र्धन र संरक्षण गर्नका लागि एक केन्द्रीय अनलाइन प्लेटफर्म विकास गर्ने र यस प्लेटफर्मलाई “याक्खा भाषा सामग्री सङ्ग्रह” भनिने र यसलाई वासिङ्टन बिश्वबिद्यालयको भाषा अध्ययन केन्द्रले आफ्नो सर्वरमा होस्ट गर्नेछ ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार याक्खा भाषाका सामग्रीहरू (जस्तै शब्दकोश, कथा, कविता, निवन्ध, समाचारहरू तथा अडियो, भिडियो सामग्रीहरू)लाई अनलाइन प्लेट फर्ममा राख्नु र पहुँच योग्य बनाउनु हो । यी सामग्रीहरूको स्वामित्व सामग्री निर्माण गर्ने ब्यक्ति वा नेपाल आदिवासी याक्खा संघको नाममा रहनेछ । याक्खा संघले उपलब्ध गराएका याक्खा भाषाका सामग्री राखिएको सबै पेजमा याक्खा संघको नाम र लोगो राखिनेछ ।
याक्खा संघले उपलब्ध गराएका सामग्रीहरू साझा गरिनेछन् । अनुसन्धान कर्ता, विज्ञ तथा भाषाका विद्यार्थीहरूले ती सामग्रीहरू गैर–ब्यवसायिक प्रयोजनका लागि कुनैपनि माध्यम वा स्वरुपमा पुनः वितरण, सम्पादन, रुपान्तरण वा विकास गर्न सक्नेछन् । तर सर्जकको सेवा नेपाल आदिवासी याक्खा संघलाई दिनु पर्नेछ ।
नेपाल आदिवासी याक्खा संघ र वासिङ्टन बिश्वबिद्यालय भाषा अध्ययन केन्द्र दुबैले आफ्ना साझेदारी सहकार्यहरू आपसी छलफलबाट अगाडि बढाउनेछन् । नेपाल आदिवासी याक्खा संघको तर्फबाट संस्थापक केन्द्रीय अध्यक्ष रामजी कोङरेन र वासिङ्टन बिश्वबिद्यालय भाषा अध्ययन केन्द्र अमेरिकाको तर्फबाट निर्देशक रस्सेल ह्युगोले लिखित समझदारी गरेकाछन् ।


