श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसपर्मण
नवलपुर — नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ५० वर्षीय महेन्द्र पौडेलले आज बिहान साढे १० बजे आफ्नी ४७ वर्षीया पत्नी गोमा पौडेलको तरकारी काट्ने चक्कुले घाँटी रेटी हत्या गरेका हुन्।
हत्यापछि पौडेललाई चक्कुसहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। घटनास्थल अस्थायी प्रहरी चौकी सर्दीबाट करिब दुई किलोमिटर पूर्व पर्छ।
इलाका प्रहरी कार्यालय दुम्किबासका नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक चरणमा हत्या घरायसी विवादका कारण भएको अनुमान गरिएको भए पनि यथार्थ कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतक गोमा पौडेल ग्रिन फाउन्डेशन नेपाल नवलपुरकी जिल्ला उपाध्यक्ष थिइन्।


