खाँदबारीमा डेङ्गी विरुद्द चेतनामूलक अभियान
संखुवासभा । ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ भन्ने नारासहित खाँदबारीमा डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ।
स्वास्थ्य कार्यालय संखुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब र विभिन्न सङ्घसंस्थाहरूको सहभागिता थियो। सहभागीहरूले सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्ने र पर्चा वितरणमार्फत जनचेतना फैलाएका थिए।
जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए। स्वास्थ्य कार्यालयका अनुसार साउन र भदौमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्यकर्मीले एडिस एजिप्टी लामखुट्टे सफा पानीमा फुल पार्ने भएकाले घर वरिपरि पानी जम्न नदिने र नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय भएको बताएका छन्।


