झापामा पिङ खेल्दा १० वर्षीय बालकको मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका–११, बालविकास टोलमा पिङ खेल्ने क्रममा १० वर्षीय बालकको ज्यान गएको छ। स्थानीय नेत्रप्रसाद सिवाका छोरा प्रदिप सिवा विहीवार दिउँसो आफ्नै घरमा बनाइएको साडीको पिङ खेल्ने क्रममा दुर्घटनामा परेका हुन्।
करीब साँझ ४:४५ बजे पिङ खेल्दा प्रयोग भएको साडी अचानक घाँटीमा बेरिएपछि उनी अचेत भएका थिए। आमाले तुरुन्तै साडी खोलेर उद्धार गरी बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याए पनि चिकित्सकले साँझ ५:२० बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल पुगेको थियो। कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको झापा प्रहरीले जनाएको छ।


