कोशी प्रदेशमा ९७ प्रतिशत धान रोपाइँ
विराटनगर । कोशी प्रदेशभरि ९७ प्रतिशतभन्दा बढी धान रोपाइँ भएकाे छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार भदाै पहिलाे सातासम्म ९७ प्रतिशत राेपाइँ भएकाे हाे ।गत वर्षको साेही अवधिमा ९९ दशमलव ६० प्रतिशत रोपाइँ भएको थियाे ।
मन्त्रालयमा अनुसार प्रदेशको १४ जिल्लामध्ये ताप्लेजुङ बाहेक अन्य १३ जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ ।ताप्लेजुङमा भने ८४ दशमलव ६६ प्रतिशत मात्रै रोपाइँ भएको छ, जहाँ ५ लाख ६ सय ६६ दशमलव ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ७ सय ९७ दशमलव ११ हेक्टरमा रोपाइँ भएको हो ।
मन्त्रालयका अनुसार सोलुखुम्बु र ओखलढुंगामा शतप्रतिशत रोपाइँ भएको छ । १ हजार २ सय २५ हेक्टर क्षेत्रफल धान लगाउने खेत रहेको सोलुखुम्बुमा सबै जमिनमा रोपाइँ भएको र ओखलढुंगामा ३ हजार ८ सय ३ हेक्टर क्षेत्रफल रहेकोमा सबैमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
धानको उर्वरभूमि मानिने झापा, सुनसरी र मोरङमा ९५ प्रतिशतभन्दा बढी रोपाइँ भएको छ । धानको अधिक उत्पादन हुने सुनसरीमा ४८ हजार ९ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ५ सय २८ हेक्टर क्षेत्रफलमा गरी कूल ९७ दशमलव ६२ प्रतिशत रोपाइँ भएकाे छ ।६९ हजार ८ सय १७ हेक्टर क्षेत्रफलमध्ये मोरङमा ६८ हजार ८ सय १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।झापामा ७५ हजार ४ सय ५९ हेक्टर क्षेत्रफलमध्ये ७२ हजार ७ सय ४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष धान उत्पादन सन्तोषजनक हुने अपेक्षा गरिएको छ ।प्रदेशमा कूल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म २ लाख ६८ हजार ७ सय ६५ दशमलव ८६ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।


