बिर्तामोडको स्वीमिङ पुलमा डुबेर युवकको मृत्यु
झापा । झापाको बिर्तामोडमा पौडी खेल्ने क्रममा स्वीमिङ पुलमा डुबेर १ जना युवकको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–२ मा जीवन ढुंगानाले सञ्चालन गरेको ग्रीन पार्क कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईंको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । शुक्रबार दिउँसो करिब ३ बजेको समयमा प्रकाश र बिर्तामोड–१० का ३३ वर्षीय केशव शिवाकोटी पार्क घुम्न गएका थिए ।
त्यस क्रममा उनीहरु पौडी खेल्न स्वीमिङ पुलमा पसेको जानकारी खड्काले दिए । तर, पौडी खेल्ने क्रममा डुबेर प्रसाईंको मृत्यु भएको उनले बताए । उनका अनुसार स्वीमिङ पुल सञ्चालकले राति ८ बजेतिर मात्रै प्रहरीलाई घटनाको जानकारी गराएका थिए ।प्रहरीले घटनाको थप अनुसन्धान गरिहेको छ ।
यस विषयमा सञ्चालकसँग सोधपुछसमेत गरिरहेको छ । अनुसन्धानपछि कस्तो खालको लापरबाहीले घटना भयो भनेर यकिन हुने डीएसपी खड्काले बताए ।


