खोटाङमा विद्यालयको भवन निर्माणमा अनियमितता, ३ जना पूर्वजिशिअ सहित १३ जनाविरुद्ध मुद्दा
खोटाङ । खोटाङमा विद्यालय भवन निर्माणका नाममा ठूलो रकम हिनामिना भएको आरोपमा ३ जना पूर्वजिल्ला शिक्षा अधिकारी (जिशिअ)सहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको आरोपपत्र अनुसार जिल्ला शिक्षा अधिकारी रहँदा डा. गणे प्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालले मिलेमतो गरेर रकम दुरुपयोग गरेका थिए । उनीहरूसँगै तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सब–इन्जिनियर शिवराज राई, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पृथ्वी दाहाल र शेषकुमार पौड्याल, तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, लेखापाल सीता कार्की र भवन निर्माण ठेक्का पाएका अर्जुन तामाङसमेतलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
यो प्रकरण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय बडहरेको भवन निर्माणसँग सम्बन्धित हो । आर्थिक वर्ष २०७१–०७२ मा विद्यालयका लागि ४ कोठे आरसीसी भवन बनाउन जिल्ला शिक्षा कार्यालयले २४ लाख र विद्यालयले ३० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो ।
तर, सम्झौताअनुसारको काम नगरिकन झुट्टा विवरण पेस गरिएको अख्तियारको दाबी छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार स्थलगत निरीक्षण र प्राविधिक प्रतिवेदन अनुसार २ लाख ७२ हजार ३२८ रुपैयाँ बराबरको मात्र काम भएको पुष्टि भएको छ । तर, सम्झौता विपरीत २४ लाख रुपैयाँ निकासा गराई बाँकी रकम हिनामिना गरिएको देखिएको छ ।
भवन निर्माणमा प्रगति भएको देखाउन गैरकानुनी रुपमा झुट्टा बिल भरपाइ र नक्कली कागजात पेस गरिएको तथा सो कार्यमा शिक्षा कार्यालयका अधिकारीदेखि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसम्मको प्रत्यक्ष संलग्नता रहेको अख्तियारको निष्कर्ष छ । यसरी विद्यार्थीहरूको पठन–पाठनका लागि हुने भवन निर्माणलाई समेत भ्रष्टाचारको चंगुलमा पारिएको भन्दै अख्तियारले सबन्धित १३ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।


