खोटाङमा भेटियो २६ वर्षीया महिलाको शव, बलात्कारपछि हत्याको आशंका
खोटाङ । खोटाङको चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियार मृत फेला परेकी छन्। उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।
सोमबार राति करिब ८ बजे स्थानीय मार्से जंगलमा रेस्मिका मृतावस्थामा भेटिएकी हुन्। उनी गाउँकै पन्चमि बजारमा रहेको अजम्बरि साना किसान कृषि सहकारी संस्थामा कर्मचारीका रूपमा कार्यरत थिइन्।
परिवारका अनुसार परियार सोमबार दिउँसो ४ बजे अफिसबाट घरतर्फ हिँडेकी थिइन्। करिब ४:५३ बजे उनले आफ्नै श्रीमानसँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन्। त्यसपछि बाटोमा भेटिएका आफन्तले उनको अनुहार डराएको देखिएको बताए। अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा श्रीमानले बाटोदेखि करिब १५० मिटर तल उनको शव फेला पारेका थिए।
स्थानीयका अनुसार मृतकको घाटीमा कालो सलले बाँधिएको, चप्पल बाटो छेउमै रहेको, भित्री वस्त्र झाडीमा भेटिएको र बाहिरी कपडा भने शरीरमै रहेको पाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।


