एमालेको अबको मार्गदर्शन

जीवनप्रसाद राई । ७५ बर्ष लामो ईतिहास बोकेको एमाले यतिबेला कठिन संकटबाट गुज्रिएको छ । अहिले धेरै नेपालीजनहरु एमालेको नाम सुन्नै चाहदैनन । जतिसुकै बौद्धिक रुपमा राम्रो काम गरिएको होस त्यो एमाले संग कहीकतै साईनो जोडिएको छ भने खोट लगाउनेको जमात ज्यादै धेरै छन । अर्थात अहिले एमाले हुनु भनेकै ठुलो अपराध जस्तो भएको छ । यस्तो किन भयो ? एउटा राजनीतिक दलले जनता संग सम्बन्ध गुमाउँदा कस्तो हुन्छ यी यावत बिषयमा यस लेखमा प्रष्ट पार्ने कोशिस गरिनेछ ।

(जीवनप्रसाद राई )

नेतृत्वले गरेको सबै काम सही नै हुन्छन भन्ने हुदैन तर त्यसलाई खबरदारी गर्ने काम कार्यकर्ताहरुको हो । यो बारेमा नेता एवं पुर्व प्रधानमन्त्री बिपि कोईरालाले समेत सुकिला मुकिला नेताहरुलाई जहिल्यै कार्यकर्ताहरुले प्रश्न गर्नुपर्ने बताएका थिए । राजनीति सधै एकनाशले अघि बढ्दैन यो बक्ररेखामा नै हिड्छ । एकपटक मनपराईएको नेता सधै मन पराउनका लागि युग अनुसारका कामहरु गर्दै जानुपर्ने हुन्छ । यदि युग अनुसार काम गर्न सकिएन भने जनताले सधै मन नपराउन सक्छन । यस्तै राजनीतिक दलहरुमा समेत यही बिषय लागु हुन्छ । ठ्याक्कै अहिले एमालेले यही समस्या भोगिरहेको छ । यो समस्या बर्तमान समयमा सबै राजनीतिक दलहरुको हो । यद्यापी एमालेले यो समस्या बढी झेलिरहेको छ । नेपालीहरुले एमाले प्रति गरेको भरोसा र चासोका कारणले यसो भएको हो । जहाँ बढी आशा र भरोसा हुन्छ त्यो प्राप्ति नहुदा निराश हुनु स्वभाविक हो । आज एमाले प्रतिको निराशा सर्बत्र फैलिएको छ ।

एमालेका सकारात्मक ईतिहासलाई केलाउने प्रयास गरौ –

सन १९९० देखि २००० ताका नेपालमा बामपंथीहरुबारे एकदमै नकारात्मक धारणाहरु थिए । बामपंथीहरुले ६० बर्ष भन्दा बढी उमेरका नागरिकहरुलाई मारिदिन्छन, अनिवार्य श्रमशिविरहरु संचालन गर्दछन, अनिवार्य सैनिक तालिम र सेवा गर्नैपर्ने नियम बनाउँछन, कम्युनिष्टहरुले सत्ता चलाए हाँस्न पनि पाईन्दैन अर्थात सुखले बस्नै दिदैनन, कम्युनिष्टहरुको शासनमा स्वतन्त्रता हुदैन जस्ता अनेकन खालका आरोपहरु थिए । यही कारणले गर्दा नै प्राय कम्युनिष्टहरुले चुनाव जित्नै सक्दैनथे सधै काँग्रेसले चुनाव जित्ने गर्दथ्यो । यही आरोपकै कारणले नै एमालेले नेपालका सबै निर्बाचन क्षेत्रबाट आफ्नो उमेदवार समेत उठाउन सक्दैनथ्यो । यी तमाम आरोप र आक्षेपहरु २०५१ सालताका एमालेले तोड्ने काम गर्यो । २०५१ सालको मध्यवधि निर्बाचनमा सबैभन्दा ठुलो दल भएको हैसियतमा एकल सरकार बनाउने अवसर पायो । मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले सामाजिक सुरक्षा भत्ता –बृद्धाभत्ताको ब्यवस्था, आफ्नो गाँउ आफै बनाँउ कार्यव्रmम, मन्त्रीहरुको सेवा सुबिधामा कटौती, मितब्यायी सरकार आदिका कारणले कम्युनिष्टहरु प्रतिको लोकप्रियता चुलिएर गयो । कम्युनिष्टहरु प्रतिको जुन जुन आरोप थिए । त्यो सबै उल्टो तरिकाले एमालेले काम गर्यो जस्का कारण त्यस्ता आरोप लगाउनेहरु आफै जिल्लिए ।

यसपछि एमालेले अगालेको जनताको बहुदलिय जनवाद –मदन भण्डारी प्रतिपादित कार्यक्रमले नेपालको बामपंथीहरु संसारमै लोकप्रिय हुदै चिनिने अवसर पनि पायो । यो समय यस्तो थियो कि संसारभरबाट कम्युनिष्टहरु अलोकप्रिय र लोपहुदै गईरहेको अवस्था थियो । सोभियत युनियन यतिबेलै ढलेको थियो भने चीनले पनि कम्युनिष्ट पार्टी भित्र उदारता हाल्दै थियो । अत्यन्तै कट्टर मानिएका कम्युनिष्ट मुलुकहरुमा भियतनाम, क्युवा, उत्तरकोरिया मात्रै बाँकी रहे अरु कहिले कम्युनिष्ट त कहिले अन्य दलहरुले शासन चलाईरहेको अवस्था थियो । संसारब्यापी अलोकप्रिय भईरहेको कम्युनिष्टहरु प्रति नेपालको बहुदलिय जनवादले एकपटक हलचल ल्याएको थियो । नेपाललाई अन्तराष्ट्रिय मंचमा चिनिने राम्रो अवसर मात्रै थिएन । नेपालीहरुले सिर्जना गरेको यो वादलाई संसारभर अवलम्बन हुने असाध्यै ठुलो र राम्रो अवसर पनि हो । जननेता मदन भण्डारीले प्रतिप्रदन गरेको यही सिद्धान्तका कारणले नै आजको एमाले यहाँसम्म आईपुगेको हो भन्न सकिन्छ । कम्युनिष्टहरुको आचरण बहुदल होईन यिनीहरु एकात्मक र एकदलिय सिद्धान्त बोकेका हुन्छन । तर बहुदलीय जनवादकै कारणले देश बिदेशमा समेत कम्युनिष्टहरुले मन जित्न सक्नु सानो बिषय थिएन ।

अर्को बिषय के हो भने एमालेले बहुदल प्रति जति विश्वास गर्यो त्यतिकै मात्रामा आन्तरिक अभ्यास पनि गर्यो । आज माओवादीमा एउटै अनुहार ४० बर्ष देखि देखिएको छ भने एमालेमा ४० बर्ष भित्रमा धैरै अनुहारहरु देखिए । सिपि मैनाली, मनमोहन अधिकारी, माधब कुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली देखिन्छ । जसका कारण एमालेमा आन्तरिक बहुदल पनि छ भन्ने राम्रो सन्देश हो यो ।

अल्पमतको एमाले सरकारले २०५१ सालमा गरेको लोकप्रिय कार्यक्रमहरु थिए आफ्नो गाँउ आफै बनाँउ र सामाजिक सुरक्षा भत्ता बितरण । यही सामाजिक सुरक्षा भत्ता कै कारण आज सम्म पनि नेकपा एमालेले सत्ता आरोहण गर्नका लागि खासै धेरै मेहनेत गर्नुपरेको थिएन । बृद्धाभत्ता मासिक रु.१ सयबाट शुरु भएको थियो । यो कार्यक्रम अहिले मासिक रु. ४ हजार सम्म पुगिसकेको छ । हुनेखानेहरुका लागि यो खासै उल्लेख्य रकम होईन तर हुदाँखानेहरुका लागि असाध्यै ठुलो सेवा र उपलब्धी हो । यो जनजनमा पुग्न सकेको र हृदयस्पर्श गर्न सफल भएको एक अत्यन्तै महत्वपुर्ण कार्यक्रम थियो ।

अन्य कार्यक्रमहरु गैर एमाले सरकार बन्नेबित्तिकै काट्न सके पनि बृद्धाभत्ता कार्यक्रम कुनै पनि सरकारले काट्न सकेनन । यसबाट कम्युनिष्टहरुले बुढाबुढीलाई मार्छन भन्ने खालको अफवाहलाई पनि सदाका लागि अन्त्य मात्रै गरेन असलमा कम्युनिष्टहरुले मात्रै बुढाबुढीलाई सामाजिक रुपमा समेत न्याय गर्ने रहेछ भन्ने सन्देश पनि दिन सफल भयो । यसैगरि आफ्नो गाँउ आफै बनाउँ भन्ने कार्यक्रम पनि एकदमै सफल कार्यक्रम थियो । एमाले अल्पमतको सरकार हुनुभन्दा पहिला काँग्रेसको एकमना सरकार थियो । जुन सरकार हुदाँ गाँउ बिकास समितिहरुमा बार्षिक रु. ५० हजार मात्रै बजेट बिनियोजन हुने गर्दथ्यो । एमालेले प्रत्येक गाबिसहरुमा ५ लाख बार्षिक बजेट पठाएर चमात्कार गरेको थियो । ठीक यहीबेला नै गाँउमा मोटरबाटो खन्ने अभियान र एफएम रेडियो खोल्ने प्रतिस्पर्धा चलेको थियो । जसबाट संसारमै संचार क्रान्ति र सडक संजाल बिस्तारमा नेपाल अग्रणी अवस्थामा पुगेको थियो ।

यही कारण तत्कालिन काँग्रेसका नेताहरु भन्ने गर्दथ्यो एमालेले राष्ट्रको सम्पुर्ण ढुकुटी सिध्याएर खतम पारे । अब एमालेलाई एकछिन पनि सरकारमा राख्न हुदैन भनेरै ५२ साल देखि मिलिजुलि सरकार चलाउने कार्यको प्रारम्भ पनि काँग्रेसले नै शुरु गरेको थियो । नजानिदो तरिकाले देशलाई अनिश्चय तर्फ लाने एउटा गम्भिर खेल त्यो । जुन आज पर्यन्त चलिरहेको छ ।

एमालेको राम्रो कार्यको यतिबेला देखि नै प्रहार शुरु भएको थियो । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद बिघटन गरि मध्यवधि निर्वाचनका लागि राजा बिरेन्द्रले मिति तोकिसकेको अवस्थामा सर्बोच्च अदालतका तत्कालिन प्रधानन्यायधीश विश्वनाथ उपाध्याय लगायत अन्य न्यायधीशहरुको बहुमतले मनमोहन अधिकारी सरकारले गरेको घोषणा बदर गरि संसदको पुनःस्थापना गरेपछि एमालेको सपना तुहाई दिएको
थियो । एमालेले ल्याउन सक्ने बहुमत र गर्न सक्ने थुप्रै राम्रो काममा तगारो राख्ने कार्य तत्कालिन प्रधानन्यायधीश विश्वनाथ उपाध्यायले गरेका थिए । २०५६ सालमा चुनाव हुदाँ पुनः काँग्रेसले नै स्पष्ट बहुमत ल्याएर सरकार बनायो तर यसबेला सम्म नेकपा माओवादीले संचालन गरिरहेको जनयुद्ध भयानक अवस्थामा पुगिसकेको थियो ।

एमालेले गर्न नसकेको नचाहेको कार्यहरु साथै नकारात्मक पक्षहरु –

आफ्नो गाँउ आफै बनाँउ अन्तर्गत गाँउ गाँउमा सडकहरु थुप्रै बिस्तार भए । तर त्यो सडकले कस्तो काम गरिरहेको छ ? त्यो सडकका लागि के कामहरु गर्न पर्छ भन्ने बिषयमा आजसम्म पनि एमालेले समिक्षा गर्न चाहेन । त्यसरी सडक खन्नुको उद्धेश्य थियो गाँउमा उत्पादन भएको बस्तुहरु शहरमा सजिलो संग ल्याउन सकियोस । तर त्यसको ठीक उल्टो के भयो ? भारत लगायतका तेस्रो मुलुकबाट उत्पादित बस्तुहरु गाँउमा सिधै पुग्न थाल्यो । अन्न, दाल, तेल, मसला, माछामासु मात्रै होईन बिलासिताका साधान देखि बहुराष्ट्रिय कम्पनी कोकाकोलाले उत्पादन गरेको कोक फेन्टा देखि बियर, रक्सीहरु पुगेर गाँउलाई नै कवाडीखानाको रुपमा परिणत गरिदियो । त्यसरी सरकार र स्थानीय जनश्रमदानबाट खनिएको सडक बाटोहरु बसाई जाने अर्थात गाँउ नै रित्याउने योजना जस्तो बन्न पुग्यो । एमालेले यतापटि कहिल्यै पनि ध्यान दिएन । अर्थात गाँउमा के गर्नुपर्ने हो त्यसको समिक्षा गर्न कहिल्यै पनि चाहेन ।

एकोहोरो बाटो मात्रै खन्ने काममा अहिले सम्म पनि निरन्तरता दिईरहेको एमालेले उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने बिषयमा कुनै दल संग र कुनै पनि सरोकारवाला निकाय संग समन्वय गरेको देखिएन । अझ प्रतिस्पर्धा कस्तो सम्म हुन गयो भने गाँउमा निर्माणका नाममा कस्ले बढी रकम पठाउने । जो जस्ले बढी रकम पठाउन सक्यो उनै सरकार लोकप्रिय हुने मापदण्ड हुन पुग्यो । यही कारण गाँउमा स्कुलहरु बडेमानको बन्न थाले तर त्यहाँ पढ्ने बिधार्थी भएन, बाटोहरु बनेको बनेकै थिए तर हिडने मानिसहरु थिएनन, भ्यु टावरहरु डाडै पिच्छे बन्दै थिए तर त्यहाँ चढ्ने पर्यटकहरु थिएनन, गाँउमै अस्पतालका बिशाल भवनहरु बन्दै थिए तर बिरामीहरु शहर बजार धाउने गर्दथे । यसबारे एमालेका नेतृत्व अन्धो जस्तै बनेको थियो । कहीकतै पनि ग्रामीण उत्पादन, ग्रामीण पर्यटन, रोजगारीको सवालमा छलफल गर्न चाहेन । बरु एकोहोरो सुखी नेपाली र संमृद्ध नेपालको रटन रटी रह्यो दिक्कै लाग्ने गरि ।

रोजगारी कसरी सिर्जना हुन्छ, मुलुकको संमृद्धिका लागि के गर्नुपर्ने हो र कसरी मुलुकलाई संमृद्ध बनाउने हो यसबारे कहीकतै, कहिल्यै पनि छलफल भएन । यसको लागि एमालेले सबै अवसरहरु पाएको थियो । अरुभन्दा पनि दुईतिहाई नजिकको सरकार हुनु एमाले र केपी ओलिका लागि सबैभन्दा ठुलो अवसर थियो । सायद यतिको बिशाल अवसर ईतिहासमा एमालेले पाउने छैन भन्नुपर्छ । बुर्किनो फासोमा ईब्रहिम त्राओरेले जम्मा ३ बर्षमा कायापलट गरेको घटनाहरु जनजनमा पुगेको छ । नेपाललाई त्यस्तै चाहिएको थियो तर केपी ओली चुके । अर्को बिषय हो सहकारी । अर्थतन्त्रको मेरुदण्डको रुपमा लिएर एमालेले शुरु गरेको सहकारी कार्यक्रम खासमा मुलुकलाई अस्तब्यस्त र असफल बनाउन सहकारीले ठुलो रोल खेलेको देखिन्छ । अर्थतन्त्रलाई बलियो बनाउने बिषय कसरी सहकारी संचालन गर्ने मनिसहरु प्रत्येकलाई थुन्नैपर्ने बाध्यता आईलाग्यो । यसरी नै सहकारीबाट प्रताडित हुने नागरिकहरुको संख्या बढ्दै गयो । यो कही न कही समस्या वा कमजोरीहरु भएरै यस्तो भएको हो । यसैले सहकारीले एमालेलाई माथि पुर्याउनु को सट्टामा झनै तल गिराउने कार्य गर्यो । मुलुकलाई सफल बनाउन प्रतिप्रदान गरिएको सहकारी मोडल एकदमै असफल हुन गयो । यसले समग्रमा एमाले र देशलाई नै गम्भिर प्रकारको धक्का पुर्यायो । यसलाई बेलैमा समिक्षा गरेर सुधार गरि अघि बढ्नुपर्नेमा त्यसो हुन सकेन । परिणाम स्वरुप एमालेको नेतृत्वको सरकार नै अपदस्त हुनुपर्यो ।

बिनाशकाले बिपरित बुद्धि भनेझै त्यतिका लोकप्रियता कमाएको एमाले अनि आन्तरिक र बाह्य बहुदलीय प्रणालीमा विश्वास गर्ने एमालेले ललितपुरको गादावरीमा भएको बिधान महाधिवेशनमा केपी ओलीले देखाएको दम्भ अनि बाँचुन्जेल उनी मात्रै रहनुपर्ने नियम बनाएर एमाले भित्रकै एउटा तप्कालाई रुवाउनै रुवाएका थिए भने अर्को बाहिरी शत्रुलाई मजाले हसाँएका थिए । अर्को बिषय थियो सामाजिक संजाल बन्द गर्ने कार्य । अधिकांश नेपालीहरु अहिले सामाजिक संजालबाट सिर्जना र सिर्जनाहरुलाई प्रबर्धनको कार्य गर्दछन भन्ने बिषयमा एमालेले कतिपनि अध्ययन नगरेको देखिन्छ । यो आम नागरिकका लागि ठुलो दुर्भाग्य हो ।

केपी ओलि नेतृत्वको सरकारले समाजवादको नाममा अर्थतन्त्र ध्वस्त बनाएको थियो भने राष्ट्रवादको नाममा परराष्ट्र मामिला समाप्त पािरएको थियो । राष्ट्रभक्तिका नाममा भारत संग टाढिएर र चीनसंग नजिकिएर गरिएको सम्बन्धले एमाले मात्रै होईन मुलुकको भविष्यलाई नै अन्धकारमा राख्ने कार्य गर्यो । सबैभन्दा दुखद बिषय त के भने ओलि सबै किसिमले सबै हिसाबले सकिदा पनि एमाले सचिवालय र केन्द्रिय समितिका एकाध बाहेक कोही पनि बोल्न चाहदैनन । जस्ले गर्दा एमाले कतै दासहरुको झुण्डको रुपमा परिणत भएको होईन भन्ने प्रश्न पनि जल्दो बनेको छ ।

एमालेको अबको मार्गदर्शन के हुनसक्छ ?

एमाले देशभर बलियो संगठन बोकेको र देशको कुना कुनामा संजाल भएको सबैभन्दा ठुलो पार्टी हो । काँग्रेसका गगन थापाको शब्दमा भन्नुपर्दा भोटर्सको भोट पाउनु एउटा बिषय हो भने जनताको विश्वास पाउनु अर्को बिषय हो । एउटा असल र नागरिकका लागि काम गर्ने पार्टीले भोट र विश्वास दुवै पाउनुपर्ने हुन्छ । यस्तै अहिलेको समयमा एमालेले जतिसुकै भोट पाएको भएता पनि मुलुकभरका जनताबाट पाउनुपर्ने विश्वास भने गुमाएको अवस्था हो । अहिलेको केपी ओलि अध्यक्षका नाम सबैभन्दा बदनाम रहेको र यसपछि उनको सचिवालयमा रहेका ब्यक्तिहरु पनि उत्तिकै बदनाम रहेको देखिन्छ । मुलुकमा भएको यतिका विध्वांसमा पनि एकशब्द आफ्नो कमजोरीको बारेमा बोल्ने कसैले आँट गरेका छैनन । भलै केपी ओलिको असक्षमता, राजनेता बन्ने उत्कट चाहनाका कारणले गर्दा मुलुक बर्बादीतिर ढकेलिएको होस । ओलि ईज ओलि फुटबलको पेले जस्तै हो भन्ने मनसायबाट अब एमालेको भविष्य कतिपनि देखिन्दैन । समयले फेरि केपी ओलिको माग गर्न सक्ला तर तत्काललाई भने केपी ओलिको बिकल्प खोज्न ढिला भईसकेको छ । केपी नै चाहिन्छ भन्नेहरुको टिमलाई पनि बिदाई गरिनु आवश्यक भईसकेको छ ।

जसरी हिजोका दिनमा एमाले बनाउन भुईमान्छेहरुले कठिन संघर्ष गरेका थिए त्यसैगरि आज र भोलि पनि संघर्ष जरुरी छ । अब एमालेले सरकार तर्फ होईन फर्केर गाँउतर्फको यात्रामा निस्कनुपर्ने हुन्छ । महलहरु तर्फ होईन झुपाडीहरु तर्फको यात्रा तय गरिनुपर्ने हुन्छ । प्राडो, पजेरोमा होईन एक चोक बाट अर्को चोक सम्म पैदलयात्रा गरिनुपर्ने आवश्यकता देखिएको छ । गाँउका मलिलो खेतबारीहरु कसरी जंगलमा परिणत भए त्यसको खोज र अनुसन्धानमा लाग्नुपर्ने देखिन्छ । नेपालका रैथाने बालीहरु कसरी लोपभए र किन भए यसको खोजिमा लाग्नुपर्ने दिन आएको छ । नागरिकहरु गाँउबाट शहर अनि शहरबाट बिदेश पलायन किन भए त्यसको कारण खोज्ने बेला भएको छ । हामीले भुटानीकरण भनेको मुलुक ३५ बर्ष अघि २५ स्थान मुनी किन थियो र आज ३५ बर्ष पछि हामी भन्दा २५ स्थान माथि कसरी पुग्यो यसको कारण खोज्नुपर्छ । उधममा मानिसहरु किन लाग्दैनन, उधममा लाग्ने मानिसहरुको कथाब्यथा के हो त्यस्को उत्तर खोज्ने बेला सही समय यही हो । अर्थात नेपाल, नेपाल जस्तो र सुखी नेपाली अनि संमृद्ध नेपाल किन बन्न सकेन त्यो बन्नका लागि के गर्नुपर्ने रहेछ त्यसको कारण खोज्नुपर्ने देखिन्छ ।

कोरा बिदेशी चलखेल, षडयन्त्र जस्ता शब्दहरुमा समय खेर फाल्ने बेला होईन यो । एक दुई पटक चुनाव हारेर केही पनि हुदैन । त्यसलाई एउटा महत्वपुर्ण शिक्षाको रुपमा लिनुपर्दछ । भारतमा काँग्रेस आईले तीनपटक सम्म लगातार चुनाव हार्दा पनि उनले संघर्ष गर्न छोडेको छैन । समय सधै एकनाश हुदैन समयले कहिल्यै उठ्न नसक्ने गरि पछारिदिन पनि सक्छ तर एमाले बल र संगठन बिनाको शक्ति पनि त होईन । आजको दिनमा पुर्नगठनको आवश्यकता भने टड्कारो रुपमा देखिन्छ । कमरेडहरु अहिले बिदेशी शक्तिकेन्द्रहरुको चलखेल, षडयन्त्र केही पनि होईन हाम्रो आफनै कमजोरीका कारणले गर्दा नै यो अवस्थामा पुगेका हौ भनेर आत्मसमिक्षा गर्नुपर्ने बेला हो । छोड्नपर्नेले छोड्ने, त्याग्नपर्नेले त्याग्ने, जिम्मा दिनुपर्नेले दिने, जिम्मा लिनुपर्नेले लिने काम गरियो भने मात्रै सही गन्तब्यमा पुग्न सकिन्छ । नत्रभने ईतिहासमा एमाले भन्ने नामै नरहने अवस्थाको पनि सिर्जना हुनसक्ने संभावना पनि ज्युदै छ भनेर समिक्षा गरौ । तर पुरानै लयमा फर्कन सक्ने संभावना आशाको दियो हो । यसलाई निभ्न भने नदिउँ । चर्को जबरजस्तीले अझै धेरै पछारिनुपर्ने अवस्था नजिकै छ । राम राम मात्रै भन्न सकिन्छ काँध थाम्न सकिन्दैन । आशाको दियो तत्कालको अवस्थामा केपी ओलीले गर्न सक्दैनन ।

(लेखकका बारेमा – लेखक राई राजनीतिशास्त्रका स्नातकोत्तर, शिक्षा शास्त्रका स्नातक तथा कृषि प्राबिधिक समेत हुन । नेपालमै रही कृषि पर्यटन अभियानमा ३५ बर्ष लगानी गरिसकेका उनी कृषि पर्यटन अभियान लिएर देशका सबै जिल्ला पुग्ने पहिलो नेपाली समेत हुन ।- सह-सम्पादक  )

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।