देउमाईमा युवाको आक्रोश: मेयरलाई ‘राहत’ दिएर विरोध
इलाम । गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन्।
भीषण वर्षातपछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन कष्टकर बनाएको छ। पीडितहरू गाँस, बास र कपासको ठेगान नभएर मारमा परेका छन्।
तर, नगरपालिकाले समयमै राहत वितरण गर्न नसकेको र वितरण गरिएका सीमित राहत पनि मेयरको कार्यकक्षमै बोलाएर सीमित व्यक्तिहरूलाई मात्रै दिएको भन्दै युवाहरू आक्रोशित बनेका हुन्।
राहत वितरणमा मात्र नभई अन्य विकासका काममा पनि अत्यधिक ढिलासुस्ती भएको भन्दै विरोध स्वरूप देउमाईका स्थानीय युवाले आफैँले खरिद गरेका राहत सामग्रीहरू नगरपालिकाका मेयरलाई नै हस्तान्तरण गरेका छन्।
युवाहरूको यो अनौठो विरोध प्रदर्शनले स्थानीय सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।-देउमाइ अनलाइन


