रास्वपाको दुईदिने विस्तारित बैठक सुरु
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक आज बिहान सौराहास्थित चित्रसारीमा सुरु भएको छ। बैठकले पार्टीको आगामी राजनीतिक रणनीति, सांगठनिक संरचना र फागुनमा तय गरिएको महाधिवेशनको तयारीबारे निर्णय लिनेछ।
बैठकको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गरेका छन्। बैठकमा उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्र मस्यौदा पेस गर्ने, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधि सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
सौराहामा आयोजित बैठकमा केन्द्रदेखि प्रदेश र विदेशमा रहेका संगठनका प्रतिनिधि गरी ५१२ जना सहभागी भएका छन्। दुई दिन चल्ने यो बैठकमा प्रदेश सभापतिहरूले आ–आफ्नो क्षेत्रमा पार्टी संगठनको अवस्था प्रस्तुत गर्नेछन्।
बैठकमा वैकल्पिक राजनीतिक शक्ति निर्माण, पार्टी संरचनाको पुनर्गठन, सांगठनिक कमजोरी र आगामी रणनीतिबारे सघन बहस हुने रास्वपाका नेताहरूले बताएका छन्। फागुनमा हुने महाधिवेशनबारे समेत निर्णय हुने जनाइएको छ।
जेनजी आन्दोलनपछि उत्पन्न आन्तरिक विवादका विषयमा पनि बैठकले धारणा तय गर्ने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झाले फरक–फरक विचारलाई सम्मान गर्दै सबैलाई धारणा राख्न दिइने बताएका छन्।
बैठकमा सहभागी प्रतिनिधिहरूका लागि खानाको व्यवस्था पार्टीले गरेको छ भने आवासको जिम्मेवारी उनीहरूकै माथि छ। हल परिसरमै क्याटरिङ मार्फत खाना बनाइने र प्रत्येक प्रतिनिधिबाट १५ सय रुपैयाँ शुल्क तोकिएको छ।
बैठक व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र सात वटा उपसमिति गठन गरिएको छ। दुईदिने बैठकपछि संशोधित प्रतिवेदन र सुझावका आधारमा रास्वपाको आगामी राजनीतिक दिशा तय हुने अपेक्षा गरिएको छ।


