दुर्घटनामा घाइते भएका लेटाङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष दाहालको निधन
लेटाङ, २६ कार्तिक। लेटाङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा सम्झना फोटो स्टुडियो, लेटाङ–३ का सञ्चालक निर्मल कुमार दाहालको निधन भएको छ।
काठमाडौँबाट लेटाङ फर्किने क्रममा उदयपुरको कटारीमा मोटरसाइकललाई हायसले ठक्कर दिँदा गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।
न्युरो सर्जरी विभागमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा मंगलबार अपराह्न ४:५० बजे उहाँको निधन भएको परिवारले जनाएको छ। उहाँको उमेर ४८ वर्ष थियो।
दुर्घटनापछि निरन्तर उपचार गरिए पनि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको परिवारजनले बताएका छन्।
लेटाङका सामाजिक, व्यापारिक समुदायमा सक्रिय रहनुभएका दाहालको असामयिक निधनले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ।
उहाँको अन्तिम दाहसंस्कार आज दिउँसो २ बजे लेटाङस्थित चिसाङ घाटमा गरिने परिवारले जनाएको छ।


