सांगुरीगढीको मदनचोक खुँडीमा प्रत्येक विहीबार साप्ताहिक हटिया लाग्ने
हिराराज राई , धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ स्थित मदनचोक खुँडीमा स्थानीय साप्ताहिक हटिया मंसिर २५ गतेदेखि प्रत्येक विहीबार नियमित रूपमा लाग्ने भएको छ।
सृजनशील युवा क्लबका अध्यक्ष तिकाराम राईका अनुसार उक्त हटियाको औपचारिक उद्घाटन साँगुरीगढी गाउँपालिका-८ का कार्यवाहक वडाध्यक्ष हृदयनारायण प्रसाद राईले गर्ने भएको छ।
स्थानीय युवाहरूको सक्रिय पहलमा सञ्चालनमा ल्याइएको यस हटियाको व्यवस्थापन समितिको अध्यक्षमा तारा प्रसाद राई रहेका छन्। गाउँघरमै उत्पादन हुने खाद्यान्न, सागसब्जी तथा विभिन्न घरेलु सामाग्रीहरू सुपथ मूल्यमा खरिद–विक्री गर्ने उद्देश्यले हटिया सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष राईले बताए।
यो साप्ताहिक हटियाले तातोपानी, तरिटोल, खुँडी, पोक्ला, हर्चुवा, सिर्वानीलगायत आसपासका बस्तीमा रहेका स्थानीय बासिन्दालाई आवश्यक सामग्री एकै ठाउँमा सहज रूपमा किनबेच गर्ने सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
हटिया लाग्ने स्थानमा अहिले व्यापक सरसफाइको काम भइरहेको र साप्ताहिक हटियाको नाम ‘कैजले’ राखिएको हटिया व्यवस्थापन समितिले जनाएका छन्।




