साँगुरीगढीमा ज्येष्ठ नागरिक होम केयर भवन गाउँपालिकालाई हस्तान्तरण
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ ओख्रेमा निर्माण सम्पन्न भएको ज्येष्ठ नागरिक होम केयर भवन औपचारिक रूपमा साँगुरीगढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। आज आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र राईमार्फत उक्त भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।
‘Material Support for the Old Age Home Care’ परियोजनाअन्तर्गत Latter Day Saint Charities (LDS Charities) को आर्थिक सहयोगमा Health Nutrition Education and Agriculture Research Development Nepal (HEARD Nepal) ले उक्त भवन निर्माण गरेको हो। करिब ४५ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यो भवन ज्येष्ठ नागरिकहरूको हेरचाह र सेवाका लागि प्रयोग गरिनेछ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सेवाका लागि यो भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले परियोजनामा सहयोग पुर्याउने LDS Charities र कार्यान्वयन गर्ने संस्था HEARD Nepal लाई धन्यवाद ज्ञापन गर्नुभयो।
HEARD Nepal का प्रतिनिधिहरूले समुदायको आवश्यकतालाई ध्यानमा राखी ज्येष्ठ नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा उक्त भवनले ज्येष्ठ नागरिकको स्वास्थ्य, पोषण र समग्र हेरचाहमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।






