मोरङमा हतियार बुझाउन आनाकानी, प्रशासनले दियो कारबाहीको चेतावनी
विराटनगर । मोरङमा लाइसेन्स (इजाजत) प्राप्त हतियार बुझाउन आनाकानी भइरहेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका हातहतियार बुझाउन आग्रह गरिरहेको छ । प्रशासनले यसअघि २ पटक सार्वजनिक सूचनामार्फत आग्रह गर्दा पनि हतियार बुझाउने काममा अटेर गर्ने काम भइरहेको हो ।
प्रशासनले हतियार बुझाउन आह्वान गर्दै पहिलोपटक पुस २५ गते सार्वजनिक सूचना जारी गरेको थियो । माघ १० गतेसम्म हतियार बुझाउने समयसीमा दिएर प्रशासनले सूचना जारी गरेको भए पनि तोकिएको समयमा कसैले हतियार बुझाएनन् ।
त्यसपछि फेरि माघ १२ गते अर्को सूचना जारी गर्दै निर्वाचन सम्पन्न नहुन्जेलसम्म इजाजत प्राप्त सबै किसिमका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ । अझैसम्म ठूलो संख्यामा हतियार नबुझाइएको भन्दै प्रशासनले कारबाहीको चेतावनीसमेत दिएको छ ।



