धनकुटाका ‘शताब्दी पुरुष’ को निधन
धनकुटा। धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ तेलिया गाउँका १०१ वर्षीय लक्ष्मण तामाङको निधन भएको छ। शताब्दी पुरुषका रूपमा परिचित तामाङको बुधबार राति आफ्नै घरमा निधन भएको स्थानीयले जानकारी दिएका छन्।
वि.सं. १९८१ मा धनकुटाको तेलियामा जन्मिएका तामाङ सामाजिक र राजनीतिक रूपमा पनि सक्रिय थिए। उनी २०३९ देखि २०४३ सालसम्म साबिक तेलिया गाविस वडा नम्बर १ को वडाध्यक्ष समेत भएका थिए।
उनी १५ भन्दा बढी निर्वाचनमा मतदान गरेको अनौठो अनुभव सुनाउने गर्थे।
परम्परागत उपचारमा कहलिएका ‘झाँक्री बा’ स्थानीयबीच झाँक्री ‘बा’ का नामले चिनिने तामाङले झारफुक र परम्परागत उपचार विधिमा ठूलो ख्याति कमाएका थिए। ६ सन्तानका अभिभावक रहेका उनी केही महिनादेखि शारीरिक रूपमा अशक्त भएर घरमै थलिएका थिए। उनकी श्रीमतीको भने केही वर्षअघि नै निधन भइसकेको थियो।
धनकुटाको स्थानीय इतिहास र सामाजिक परिवर्तनलाई नजिकबाट देखेका तामाङको निधनले गाउँलेहरू शोकमा परेका छन्।-बेतना दैनिक

