विराटनगरमा सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ
विराटनगर । विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। दुर्घटनापछि घाइतेलाई सडक किनारमा छाडेर फरार भएका सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ २८ गते बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी चोकमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले ती पुरुषलाई ठक्कर दिएको थियो।
चालकले घाइतेलाई उपचारका लागि सिटी सफारीमै लगेको तर पछि सडक किनारमा छाडेर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–२ का ५५ वर्षीय अर्जुन भगत रहेका छन्। उनलाई आफ्नै घरबाट सिटी सफारीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

