धनकुटामा करेन्ट लागेर ४१ वर्षीय पुरुषको मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ घर भई हाल धनकुटाको महालक्ष्मी नगरपालिका–६ बस्दै आएका ४१ वर्षीय राजकुमार राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार साँझ करिब ५ बजे महालक्ष्मी नगरपालिका–७ जलजलेस्थित नवनिर्मित नगर अस्पतालमा पानी तान्ने मोटरबाट करेन्ट सर्ट हुँदा राईलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जितपुरस्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।
उपचारकै क्रममा साँझ ७ः३५ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी जितपुरबाट प्रहरी नायब निरीक्षक इन्द्रबहादुर मगरको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
राईको शव कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि शनिबार राति ९ बजे जिल्ला अस्पताल धनकुटामा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

