भोलिबाट नेपाली सेनाको संयोजनमा चारवटा सुरक्षा निकाय परिचालित हुँदै
काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटा सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचन सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।
यस अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुनेछन्। निर्वाचन प्रयोजनका लागि ‘निर्वाचन प्रहरी’ समेत खटाइनेछ। मतगणना, मतपत्र छपाइ–ढुवानी, मतदानस्थल सुरक्षा र निर्वाचनकर्मीको सुरक्षा समेत तीन तहको सुरक्षा घेराभित्र समेटिनेछ।
नेपाली सेनाले बाहिरी घेरामा सुरक्षा जिम्मेवारी सम्हाल्नेछ भने नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री सुरक्षा गर्नेछन्। सशस्त्र प्रहरी बल दोस्रो सुरक्षा घेरामा रहि सेनासँग समन्वय गर्दै सुरक्षा सुनिश्चित गर्नेछ। सेनाले देशभर १६५ निर्वाचन क्षेत्रमा परिचालन हुँदै ८० हजार जनशक्ति सुरक्षा व्यवस्थामा खटाउने तयारी गरेको छ। निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।
९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचन क्षेत्रमा अतिसंवेदनशील, संवेदनशील र सामान्यका रूपमा मतदानस्थल वर्गीकरण गरिएको छ। त्यसअनुसार २८४५ सामान्य, ४४४२ संवेदनशील र ३६८० अतिसंवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ। निर्वाचनका लागि नेपाल प्रहरीतर्फ ७७ हजार, सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ र ‘निर्वाचन प्रहरी’ १५ हजार ११० गरी कूल २ लाख ८ हजार भन्दा बढी सुरक्षा जनशक्ति परिचालित हुनेछन्। सशस्त्र प्रहरी बलले निर्वाचनका समयमा कुनै अप्रिय घटना नहोस् भनेर उच्च सतर्कता अपनाउने र आवश्यक परे १० मिनेट भित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाएको छ।


