खाँदबारीमा नेकपा एमालेको निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न
संखुवासभा । नेकपा एमाले खाँदबारी नगर कमिटीको आयोजनामा निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न भएको छ । बैठकबाट आगामी निर्वाचनलाई लक्षित गर्दै नगरपालिकास्तरमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
बैठक नेकपा एमाले पूर्व स्थायी कमिटी सदस्य तथा प्रचार–प्रसार विभाग प्रमुख (हाल केन्द्रीय सदस्य) राजेन्द्र प्रसाद गौतमको प्रमुख आतिथ्यतामा तथा नगर कमिटी अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य तथा संखुवासभा निर्वाचन परिचालन संयोजक तुलसी प्रसाद न्यौपाने, केन्द्रीय कमिटी सदस्य कमला तामाङ, प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. अर्जुन कुमार कार्की र नेकपा एमाले जिल्ला कमिटी संखुवासभा अध्यक्ष खड्ग बहादुर राईले निर्वाचन परिचालन, संगठन सुदृढीकरण तथा पार्टीको विजय सुनिश्चित गर्ने विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
बैठकमा प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, नगर तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले खाँदबारी नगरपालिकामा नेकपा एमालेको निर्वाचन अभियानलाई थप प्रभावकारी र संगठित बनाउने निर्णय समेत गरेको छ।


