उर्लाबारी–९ मा घनश्याम खतिवडाको प्रतिबद्धता : जनताको सेवामै अन्तिम चुनावी प्रतिस्पर्धा
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–९ मा नेकपा एमालेका नेता तथा मोरङ–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम खतिवडाले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिबद्धता जनाएका छन्।
स्थानीय मतदाताको घर–घरमा पुगेर आयोजित भेटघाट तथा छलफलका क्रममा नेता खतिवडाले आफू विद्यार्थी जीवनदेखि नै देश परिवर्तनको अभियानमा लागेको उल्लेख गर्दै अहिलेसम्म कसैको अहित नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे। उनले यो निर्वाचन आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको बताउँदै बाँकी राजनीतिक जीवन पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणमै समर्पित रहने बताएका छन् ।
खतिवडाले मोरङ–१ का जनताका सवाल र राष्ट्रिय सरोकारका विषयमा संसदमा १८६ पटकसम्म आवाज उठाएको स्मरण गराउँदै धेरै विकास निर्माणका काम सम्पन्न भइसकेका र केही प्रक्रिया र कार्यान्वयनको चरणमा रहेको जानकारी दिई। उनले आफू अन्य नेताझैँ व्यक्तिगत लाभका लागि राजनीति नगरेको स्पष्ट पार्दै “के ल्याउँ, के खाउँ” भन्ने सोचबाट आफू टाढा रहेको बताए।
पार्टीको नीति र सिद्धान्तअनुसार जनताको सेवा, सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै खतिवडाले आफ्ना गतिविधि र कामको प्रत्यक्ष निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् ।
उर्लाबारी–९ मा आयोजित भेटघाटका क्रममा स्थानीयवासीहरूले विकास, शिक्षा, रोजगारी र पूर्वाधारका विषयमा जिज्ञासा राखेका थिए, जसको जवाफ दिँदै नेता खतिवडाले सबै जायज मागहरूलाई योजनाबद्ध रूपमा अघि बढाइने विश्वास दिलाएका छन् ।


