‘कसलाई मतदान गर्ने? भनी प्रश्न गर्न रोक, आचारसंहिता उल्लंघन गरे मोरङमा कारबाही गर्ने
विराटनगर । मोरङमा मतदाताको गोपनीयता भंग हुने गरी ‘कसलाई मतदान गर्ने ?’ भनी प्रश्न गर्न स्थानीय निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय मोरङले रोक लगाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै कार्यालयले मतदाताको व्यक्तिगत निर्णय र गोपनीयताको अधिकार सुरक्षित गर्न यस्तो निर्देशन दिएको हो ।
पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यम, फेसबुक र युट्युब लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सर्वसाधारण तथा मतदातालाई ‘कुन दल, उम्मेदवार वा चुनाव चिन्हमा मतदान गर्नुहुन्छ ?’ भनी प्रश्न गरिरहेको पाइएकाले त्यसलाई रोक्न कार्यालयले कडा कदम चालेको हो ।


