याक्थुङ मुन्धुम पदमार्गको उद्घाटन

धरान । धरान–२० को पर्यटन प्रबर्द्धनलाई लक्षित गर्दै माथिल्लो सुलिकोटस्थित याक्थुङ मुन्धुम यक पुग्ने याक्थुङ मुन्धुम पदमार्ग तथा मुख्य प्रवेशद्वार निर्माण सम्पन्न भएको छ ।

स्थानीय सरकारको सीमित लगानी र दाताहरूको विशेष सहयोगमा निर्माण गरिएको पदमार्ग एक हजार ६० मिटर लामो ढुङ्गा बिछ्याएर तयार गरिएको हो भने मुख्य प्रवेशद्वारमा कलात्मक गेट निर्माण गरिएको छ । पदमार्गको विधिवत उद्घाटनअघि याक्थुङ मुन्धुम यकमा विशेष पूजा सम्पन्न गरिएको थियो । त्यसपछि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले माघ १७ गते शनिबार लिम्बू समुदायको मुन्धुमअनुसार दियो बालेर, कलशको पानीले सेसेसाङ्साङ गर्दै र रिबन काटेर पदमार्ग तथा प्रवेशद्वारको उद्घाटन गरे । उद्घाटनपछि नगर प्रमुख बेघाले गेट तथा सहयोगी दाताहरूको शिलालेख अवलोकन गर्नुभयो । सो क्रममा येबा, साम्बा तथा च्याब्रुङ कलाकारहरूले याक्थुङ मुन्धुमअनुसार गेट परिक्रमा गरेका थिए ।

कार्यवाहक नगर प्रमुख बेघाले देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा निर्माण भएको पदमार्गले धरान क्षेत्रमा पर्यटन प्रबर्द्धन र विकासमा ठूलो टेवा पुर्‍याउने बताउँदै स्थानीय सरकारले पनि आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धरान–१५ का वडा अध्यक्ष नरेश कुमार इङ्वारमले समुदायको अगुवाइमा पर्यटन प्रवर्द्धनका लागि गरिने कुनै पनि कार्यमा सरकारले सक्दो सहयोग गर्नुपर्ने धारणा राख्दै आफ्नो वडाले प्रत्येक आर्थिक वर्षमा केही बजेट छुट्याउँदै आएको जानकारी दिए ।

त्यसैगरी धरान–२० का वडा अध्यक्ष पदमबहादुर लिम्बुले केही वर्षअघि मात्र धरान उपमहानगरपालिकामा गाभिएको यस वडाको विकासका लागि सबै वडा, सामाजिक संघ–संस्था तथा व्यक्तिहरूको सामूहिक सहयोग आवश्यक रहेको बताए ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा पदमार्ग निर्माण समितिका कोषाध्यक्ष पूर्णमाया लिम्बूले आय–व्यय विवरण प्रस्तुत गर्दै निर्माणमा ३५ लाख रुपैयाँभन्दा बढी खर्च लागेको जानकारी दिए ।

कार्यक्रममा धरान–४ का वडा अध्यक्ष धनबहादुर राई, धनकुटा सागुरीगढी–८ का वडा अध्यक्ष हृदय नारायण राई, सुलिकोट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तामाङ, कियाचु धरान नगर अध्यक्ष तीर्थराज मादेम्बा तथा कियाचु संघीय उपाध्यक्ष डा. कमल तिगेलाले शुभकामना मन्तव्य राखेका थिए ।

पदमार्ग निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र, कदरपत्र तथा ताम्रपत्र प्रदान गरिएको थियो । याक्थुङ मुन्धुम पदमार्ग निर्माण समितिका अध्यक्ष मोहनकुमार हुक्पा चोङ्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन लिम्बू पत्रकार संघ सुनसरीका अध्यक्ष स्वर्णिमहाङ लिम्बूले गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।