संखुवासभामा ट्याक्टरले किचेर चालक सहयोगीको मृत्यु
संखुवासभा। संखुवासभा जिल्लाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। हिजो साँझ करिब ९ बजेतिर ना ५ त ७०८१ नम्बरको ट्याक्टरले किच्दा ट्याक्टर चालक सहयोगी नेमलाल तामाङको घटनास्थलमै मृत्यु भएको हो।
मृतक तामाङ हरिपुरगढी गाउँपालिका–६ निवासी करिब ३० वर्षका रहेको स्थानीय प्रहरीले जनाएको छ। कोशी सडक निर्माणका लागि खाँदबारीबाट नुमतर्फ सिमेन्ट बोकेर जाँदै गरेको क्रममा उक्त दुर्घटना भएको बताइएको छ।
घटनापछि ट्याक्टर चालक हर्क वानेम फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलको मुचुल्का प्रक्रिया पूरा भइसकेको छ भने थप अनुसन्धान भइरहेको छ।-स्रोत : सांग्रिला एफएम

