उर्लाबारीमा विद्यालयकेन्द्रित एचपीभी खोप अभियानको तयारी
उर्लाबारी । उर्लाबारी नगरपालिकामा विद्यालय केन्द्रित नियमित खोप कार्यक्रमअन्तर्गत एचपीभी ( HPV) खोप अभियान सुरु गर्ने तयारीस्वरूप पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालालाई लक्षित गरी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकामा यही माघ २७ गतेदेखि फागुन १ गते सम्म तोकिएका विद्यालय तथा वडाका स्वास्थ्य संस्थाहरु बाट पाठेघरको मुखमा हुने क्यान्सरबिरुद्ध खोप प्रदान गरिने कार्यक्रम तय भएको छ ।
गोष्ठीमा पाठेघरको मुखको क्यान्सर, उक्त रोग निवारणका राष्ट्रिय रणनीति तथा एचपीभी खोप सेवा सञ्चालनसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो। पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले यसबाट हुने मृत्युदर न्यूनीकरण गर्न एचपीभी खोप प्रभावकारी माध्यम रहेको विज्ञहरूले बताएका छन् ।
एचपीभी भाइरसका कारण हुने संक्रमणबाट भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरी अवस्थामै खोप लगाउनु अत्यन्तै सुरक्षित र प्रभावकारी हुने जनाइएको छ । एचपीभी खोप पूर्ण रूपमा सुरक्षित, गुणस्तरीय तथा सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको खोप भएको अभिमुखीकरणमा जानकारी दिइयो।
नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विगतमा खोप छुट भएका कक्षा ७ देखि कक्षा १० सम्मका छात्राहरु, विद्यालय नजाने १० वर्ष उमेर समुहका किशोरीहरु तथा विगतमा एचपीभी खोप छुट भएका ११ बर्ष देखि १४ बर्ष उमेर समुहका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने नगरपालिकाका जन स्वास्थ्य अधिकृत रेनुका काफ्लेले बताए ।
यस्तै उनले लक्षित समूहका किशोरीहरूलाई खोप केन्द्रसम्म ल्याउन अभिभावक, शिक्षक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले खोप अभियानका उद्देश्य, लक्ष्य, अपेक्षित उपलब्धि तथा यसले किशोरीहरूको स्वास्थ्य, प्रजनन स्वास्थ्य र दीर्घकालीन जीवनस्तरमा पार्ने सकारात्मक प्रभावबारे सबै पक्षले सन्देश फैलाउनुपर्ने बताईन् । यस्तै उनले एचपीभी खोपसम्बन्धी जनचेतनामूलक सन्देश, खोपको फाइदा, खोप लगाउनुको उद्देश्य, सम्भावित सामान्य साइड इफेक्ट तथा खोपपछि अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्पष्ट पारिन् ।
कार्यक्रममा उपसचिव एवं नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले पनि मन्तव्य राखकका थिए ।
नगर कार्यपालिका सदस्य कृष्ण बर्देवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य डम्बर भुजेल, स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, संचारकर्मीहरु, नगरपालिका मातहतका स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।


