लेटाङमा नेवार संस्कृति जोगाउन नेवारी बाजा तालिम सुरु
लेटाङ, २३ माघ । लेटाङ नगरपालिकाको आयोजनामा आदिवासी जनजातिहरूको सीपमूलक कार्यक्रमअन्तर्गत नेवार समुदायको परम्परागत सांस्कृतिक बाजा बजाउने ७ दिने तालिम लेटाङमा सुरु भएको छ।
नेवाः देय दबु लेटाङको प्राङ्गणमा दैनिक ४ घण्टा सञ्चालन हुने तालिममा नेवार समुदायका १२ जना सहभागी छन्।
ढोल, झ्याम्टा लगायतका परम्परागत बाजा बजाउने सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा प्रविण शाक्य, रोशन प्रधान र सविन खत्रीले प्रशिक्षण दिइरहनुभएको छ।
सीपमूलक तालिमले मौलिक संस्कृति संरक्षणसँगै स्वरोजगार र आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।-लेटाङ खबर


