सीमा सुरक्षा बैठकको क्रममा ढलेका एसपी घिमिरेको उपचारका क्रममा निधन
विराटनगर । सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर मोरङका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ ।
शुक्रबार मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित सीमा सुरक्षा बैठकको क्रममा ढलेका एसपी घिमिरेको उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली सुनसरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए ।
एसपी घिमिरे सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहनी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को डिआइजी तहको बैठकमा सहभागी भइरहेको बेला आज अपरान्ह अचानक बेहोस भएर ढलेका थिए।
उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज पुर्याएर भेन्टिलेटरमा उपचार भइरहेको थियो । तर उपचारकै क्रममा एसपी घिमिरेको मृत्यु भएको जनाइएको छ । उनको शव शनिबार पोष्टमार्टम गरिने जनाइएको छ ।
सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी गाडीमाई मकवानपुरमा सरुवा भईसकेका घिमिरे शनिबार नै मोरङ छोडेर नयाँ कार्यक्षेत्रतर्फ जाने तयारीमा थिए ।
घिमिरे विराटनगर महानगरपालिका–३ का बासिन्दा हुन् ।

