लेटाङको समला डाँडा प्रमुख पर्यटकीय गन्तव्य बन्दै
लेटाङ । लेटाङ नगरपालिका वडा नं. ७ मा अवस्थित समला डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। हरियाली डाँडाकाँडा, शान्त वातावरण र मनमोहक दृश्यका कारण समला डाँडाले लेटाङ नगरपालिकाभित्र विशेष पहिचान बनाउन थालेको छ।
समला डाँडा पुग्न लेटाङबाट ६ नम्बर बुधबारे जाने सडक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ, जुन हाल निर्माणाधीन अवस्थामा छ। सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रसम्मको पहुँच सहज भई आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।
पर्यटकको सुविधालाई मध्यनजर गर्दै समला डाँडा चढ्न सिडी निर्माण गरिएको छ भने थकान मेटाउनको लागि फलैचाको व्यवस्था समेत गरिएको छ। साथै, यहाँ हाल होमस्टे सुविधा पनि उपलब्ध रहेको छ।
सञ्चार सेवाको दृष्टिले यस क्षेत्रमा एनटिसी र एनसेलका टावर जडान भइसकेका छन्, जसले मोबाइल तथा इन्टरनेट सेवामा सहजता प्रदान गरेको छ।
लेटाङ नगरपालिकाबाट पैदल यात्रामा करिब ४ देखि ५ घण्टामा पुग्न सकिने समला डाँडा सवारी साधन प्रयोग गर्दा करिब १ देखि २ घण्टासम्म लाग्ने गर्दछ। जाडो याममा यहाँबाट लेटाङ नगरपालिका क्षेत्र बादलले ढाकिएको दृश्य अवलोकन गर्न सकिन्छ भने गर्मी याममा तराई क्षेत्रको भूभाग पूर्वमा झापादेखि पश्चिममा धरानसम्म देख्न सकिन्छ।
प्राकृतिक दृश्य, पूर्वाधार विकास र बढ्दो सुविधासँगै समला डाँडा लेटाङ नगरपालिकाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण गन्तव्य बन्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।-लेटाङ खबर


