बस दुर्घटना अपडेट : पाँच जनाको मृत्यु
काठमाडौ । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगातर्फ जाँदै गरेको एक यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। आज बिहान रामेछापको मचानेटार भन्ने स्थानमा बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको हो।
दुर्घटनापछि उद्धार गरी अस्पताल पुर्याइएका यात्रुहरूमध्ये गम्भीर घाइते भएका पाँच जनाको उपचारका क्रममा मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्। उनका अनुसार घाइतेमध्ये सात जनाको खुर्कोटमा र एक जनाको मन्थलीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ गइरहेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको प्रहरीले जनाएको छ।
यातायात समितिका अनुसार बसमा जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायी गरी तीन जना तथा बाटोबाट चढेका यात्रु समेत गरी जम्मा तेह्र जना सवार रहेको खुलेको छ। बाटोबाट थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा भने यकिन भइसकेको छैन।
दुर्घटनास्थलमा सुरक्षाकर्मीको टोली तथा सशस्त्र प्रहरीको गोताखोर टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। सडकबाट खसेको बस नदीमा डुबेको अवस्थामा रहेको र सम्भावित अन्य यात्रुको खोजी कार्य जारी रहेको जनाइएको छ।


