मोरंगको लेटाङमा आजबाट सुरु भयो राष्ट्रपति रनिङ सिल्ड
लेटाङ, ४ फागुन ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने नारासहित पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ। लेटाङ नगरपालिका द्वारा आयोजित प्रतियोगिताको उद्घाटन अतिथिहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए।
प्रतियोगितामा कराते, भलिबल, हाई जम्प, लङ जम्प तथा दौडलगायत विधामा नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा नगरप्रमुख भुपेन्द्र कुमार लावती सहभागी हुनुभएको थियो।
नगरप्रमुख लावतिले खेलाडीको क्षमता अभिवृद्धि गर्दै लेटाङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको समापन फागुन ५ गते हुनेछ। छात्रतर्फ भलिबलमा १४ टिम र छात्रातर्फ १३ टिम सहभागी भएका छन्।


