मोरङ १ मा नेपाली कम्युनिस्ट पार्टीको प्रतिबद्धता सार्वजनिक
मोरंग । नेपाली कम्युनिस्ट पार्टी मोरङ–१ ले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ। निर्वाचन परिचालन समितिका संयोजक उपेन्द्र घिमिरेले आम न्यायप्रेमी जनसमुदायलाई सम्बोधन गर्दै वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको दाबी गरे।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई “सामान्य प्रतिस्पर्धा नभई व्यवस्था विरोधी र संविधान तथा लोकतन्त्रका पक्षधर शक्तिबीचको निर्णायक संघर्ष” को रूपमा व्याख्या गरे। देशलाई अस्थिरता, हिंसा र अराजकतातर्फ धकेल्ने शक्तिहरूलाई पराजित गर्नु ऐतिहासिक आवश्यकता भएको उनको भनाइ थियो।
पार्टीले राजनीतिलाई परिवर्तनको माध्यम र जनसेवाको साधन बनाउने प्रतिबद्धता दोहोर्याउँदै जनताको निरन्तर साथ, सहयोग र खबरदारी आवश्यक रहेको उल्लेख गरेको छ। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई चुनावी नारा मात्र नभई कर्तव्यको रूपमा लिएको पार्टीले जनाएको छ।
पार्टीले मोरङ क्षेत्र नं. १ लाई पर्यटन केन्द्रका रूपमा विकास गर्दै ५० लाख जनसंख्यालाई बसोबास गर्न सक्ने आधुनिक सहर निर्माण गर्ने लक्ष्य अघि सारेको छ। सुपारी खेतीलगायत नगदेबालीलाई राष्ट्रबालीको रूपमा सूचीकृत गराउने, कृषिको आधुनिकीकरण र जैविक उत्पादनमा जोड दिने योजना पनि सार्वजनिक गरिएको छ।
उर्लाबारीलाई आर्थिक तथा प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने, भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्ने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, प्राकृतिक स्रोत–साधन जनहितमा सदुपयोग गर्ने तथा प्रत्येक पालिका केन्द्रमा विपद् व्यवस्थापनका लागि ‘सेफ हाउस’ स्थापना गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।
त्यस्तै, संविधान संशोधन गरी शासकीय स्वरूप परिवर्तनका लागि आवाज उठाउने, सूचना तथा सञ्चारमा आम नागरिकको पहुँच विस्तार गर्ने र “हाम्रो लगानी, हाम्रो आम्दानी” कार्यक्रममार्फत स्थानीय स्तरमै व्यापक रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ।
पार्टीले विकासलाई पहुँचको आधारमा नभई आवश्यकता र महत्वको आधारमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्दै आधारभूत जनजीविकाका सवाल आफ्नै पालामा समाधान गर्ने प्रतिबद्धता जनाएको छ।
आगामी निर्वाचनमा ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै पार्टीले जनताको समर्थनबाट इतिहास निर्माण गर्ने दृढ संकल्प व्यक्त गरेको छ।


