मोरङको लेटाङमा धम्की, कुटपिट र रकम असुली प्रयास गरेको आरोपमा तीन जना पक्राउ
मोरङ , ५ फागुन । मोरङ जिल्ला अन्तर्गत लेटाङ नगरपालिका वडा नं. ०४ स्थित क्षेत्रमा केही व्यक्तिहरूले कुचो व्यवसायी लगायत अन्य व्यक्तिहरूसँग धाक–धम्की दिँदै अपशब्द प्रयोग गरी रकम माग गरेको घटना सार्वजनिक भएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लेटाङ ले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रहरीका अनुसार मिति फागुन २ गते साँझ उक्त स्थानमा केही व्यक्तिहरूले पीडितहरूलाई आगो लगाउने तथा ज्यान मार्ने जस्ता गम्भीर प्रकृतिका धम्की दिएका थिए। साथै कुटपिट समेत गरी अभद्र व्यवहार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।
उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन ३ जनालाई फागुन ३ गते नियन्त्रणमा लिई हिरासतमा राखेको छ। अनुसन्धान प्रयोजनका लागि सात ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका वडा नं. ०३ बस्ने धिरज तामाङ (टक्करे), वडा नं. ०३ बस्ने राम श्रेष्ठ (माल्दाई) तथा वडा नं. ०६ बस्ने अन्दाजी वर्ष ३६ का नन्द कुमार लिम्बु (नन्दु) रहेका छन्।
प्रहरीका अनुसार उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको छ। साथै घटनासम्बन्धी सम्पूर्ण तथ्य तथा प्रमाणहरूको संकलन, विश्लेषण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने उद्देश्यका साथ थप अनुसन्धान कार्य भइरहेको छ। -लेटांग खबरबाट


