निर्वाचन सुरक्षालाई लक्षित गर्दै उर्लाबारीमा नेपाली सेना परिचालन
उर्लाबारी । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना उर्लाबारीमा परिचालन गरिएको छ। सेनाको एक टोली उर्लाबारी–४ स्थित विष्णु गङ्गा घाटमा नवनिर्मित भवनमा डेरा जमाएर आजदेखि बस्न सुरु गरेको छ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सेना परिचालन गरिएको र आवश्यक समन्वय भइरहेको बताइएको छ। उक्त भवन परिसरमा बसेको सेनाको टोलीले निर्वाचन अवधिभर सुरक्षा तयारी, निगरानी तथा आवश्यक परेमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रमुख गंगाप्रसाद खरेलले जनाएका छन्।
यसैबीच उर्लाबारी नगरपालिकाले सेनाको बसोबासका लागि आवश्यक खानेपानी, विद्युत तथा आधारभूत व्यवस्थापनको प्रबन्ध मिलाइएको जानकारी दिएको छ। नगरपालिकाका अनुसार सुरक्षाकर्मीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्य राखिएको छ।
स्थानीयवासीले पनि निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्था थप कडाइका साथ अगाडि बढाइएको छ।


