मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्रः विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेल ले मतदातालाई हस्तलिखित पत्रबाटै सम्बोधन गर्दै विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता जनाएका छन् ।

निर्वाचन क्षेत्रका मतदातालाई उनले आफ्नो तर्फबाट लिखित पत्र नै दिएर प्रचार अभियान थालेको एमाले नेता युवराज घिमिरेले जानकारी दिए । घरदैलो अभियानकै क्रममा मतदाताको नाम लेखेर उनले लिखित अपिलमार्फत विगतका उपलब्धि, वर्तमान जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा सार्वजनिक गरेर पारदर्शीता देखाउन खोजेको हुन् ।

निर्वाचन परिचालन कमिटीले यसको समन्वय गरेर सम्बन्धित व्यक्तिको नामै लेखेर पुराउने अभियान थालेको घिमिरेले जानकारी दिए । पत्रमा पौडेलले सम्पूर्ण मतदाता तथा परिवारजनप्रति सम्मान व्यक्त गर्दै स्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको कामना गरेका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासको दिशानिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन् ।

उम्मेदवार पौडेलले विगतमा मतदाताबाट प्राप्त विश्वासका आधारमा आफू निर्वाचित भई अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणलाई गति दिने तथा महामारी र आर्थिक चुनौतीबीच पनि स्थायित्व कायम राख्ने प्रयास गरेको दाबी गरेका छन् । विशेषगरी भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीपछिको आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अर्थतन्त्र जोगाउने कार्यमा आफ्नो भूमिका रहेको उनले स्मरण गरेका छन् ।

रूपन्देहीलाई केवल भौगोलिक क्षेत्र नभई सम्भावनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ठूला पूर्वाधार आयोजना अघि बढाइएको पत्रमा उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया व्यापारिक करिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थल लगायत आयोजना क्षेत्रको पहिचान बनेको उनको भनाइ छ । त्यस्तै, लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, प्रादेशिक अस्पताल, कृषि थोक बजार, सिद्धार्थ राजमार्ग स्तरोन्नति, बुटवल–नारायणगढ सडक विस्तार, पुल तथा करिडोर निर्माणजस्ता आयोजनाले समग्र क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको उनले उल्लेख गरेका छन् ।

उनले अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रमा उनले सुरु भइसकेका तर अपूरा रहेका आयोजना छिटो सम्पन्न गर्ने, नयाँ योजनाको थालनी गर्ने, औद्योगिक विकास विस्तार गर्ने तथा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षा, स्वास्थ्य, उत्पादन र आयआर्जनका क्षेत्रमा रूपन्देहीलाई अग्रणी केन्द्र बनाउने योजना पनि अघि सारेका छन् ।

त्यसैगरी पौडेलले विकासलाई सामाजिक न्यायसँग जोड्दै समान अवसर, समावेशी सहभागिता र आत्मसम्मानसहितको समाज निर्माणमा जोड दिने उल्लेख गरेका छन् । सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
उनले मतदातासँग पुनः समर्थनको अपिल आफूले अघि बढाएको विकास र समृद्धिको अभियानलाई निष्कर्षमा पुर्‍याउन पुनः जनसमर्थन आवश्यक रहेको भन्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । राष्ट्र निर्माण, आर्थिक रूपान्तरण र क्षेत्रीय समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

उनी आबद्ध दल नेकपा एमालेले पनि रूपन्देही–२ मा विकास निरन्तरताका आधारमा चुनावी अभियान तीव्र बनाएको जनाएको छ । समग्रमा पौडेलको प्रतिबद्धता पत्र विगतका उपलब्धि संस्थागत गर्ने, अधुरा आयोजना पूरा गर्ने र रूपन्देहीलाई राष्ट्रिय आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन विकास दृष्टिसहित केन्द्रित देखिएको पत्र पाएको मतदाता काव्या थापा बताउँछिन् ।

अब मतदाताले उनको कार्यसम्पादन मूल्यांकन गर्दै पुनः जिम्मेवारी सुम्पिन यो पत्रले थप प्रष्ट भएको उनको भनाइ छ । ‘सामाजिक सन्जालमा केही भ्रम आइरहेका थिए, यसमा उहाँले उल्लेख गरेका योजनाको विषयले कतै सोच्न नपर्ने बनायो’ उनले भनिन् । रुपन्देही २ मा पौडेलले ०६४ सालदेखि लगातार जित्दै आएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।