मोरङको पथरीमा ट्याक्टर–अटो ठोक्किँदा एकको मृत्यु, तीन घाइते
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ जयचोकस्थित हसन्दह–अमरदह सडकखण्डमा ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मिति २०८२ फागुन ८ गते साँझ हसन्दहबाट अमरदहतर्फ जाँदै गरेको को २ त ७८३८ नम्बरको ढुंगा बोकेको ट्याक्टरले पूर्वबाट आई उत्तरतर्फ मोडिँदै गरेको को १ ह ६१२२ नम्बरको अटोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा अटो चालक पथरीशनिश्चरे–६ निवासी रुद्रबहादुर थापाका १८ वर्षीय छोरा सुदिप थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अटोबाट उछिट्टिएर लड्दा ट्याक्टरको पछाडिको ट्रलीले किचेको थियो ।
अटोमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा पथरीशनिश्चरे–६ का १५ वर्षीय अर्जुन चौधरी, १७ वर्षीय मिलन सतार र १७ वर्षीय इन्द्र हेमरन रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको र उपचारका लागि नगर अस्पताल पथरी पठाइएको प्रहरीले जनाएको छ ।

