धनकुटा नगरक्षेत्रमा सुरुभयो एमालेको घरदैलो कार्यक्रम(फोटो फिचर)
धनकुटा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले आजबाट धनकुटा नगर क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्र राई र समानुपातिक उम्मेद्वार मनकुमारी तितुङसहितको टोलीले धनकुटा नगरक्षेत्रमा घरदैलो थालेको हो ।
धनकुटाका सात पालिकामध्ये चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, पाख्रीवास नगरपालिका, छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदाता भेटघाट सकेर टोली धनकुटा नगरक्षेत्र प्रवेश गरेको हो ।
धनकुटा नगरको पहिलो दिन आज वडा नं.१ को हिले र वडा नं.२ को भीरगाउँमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।
हिले बजारमा भएको घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रुपमा ठूलो संख्यामा एमाले नेता कार्यकर्ताहरू सहभागि हुनुभएको थियो । झण्डा र ब्यानरसहित सहभागि नेता कार्यकर्ताहरूले बजारमा एमाले गीतमा नृत्य गर्दै माहोल तताउनुभएको थियो । अब, भोलि वडा नं.३ को कागते, पात्ले, सेउले र वडा नं.४ को दानावारी क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम छ ।







