संखुवासभाका गिरीको काठमाडौमा हत्या
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।
गत फागुन ६ गते राति पशुपति–१५ स्थित शिवालय मन्दिरको उत्तरतर्फको दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा फेला परेका थिए।
घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले हत्या आरोपमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्दै आएका २३ वर्षीय आशीर्वादनाथ योगी भनिने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्दै आएका ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाको थप अनुसन्धानका क्रममा मृतक गिरी र नीरज नाथसमेतको बाबा समूहबीच वादविवाद भएको खुलेको छ।प्रत्यक्षदर्शीका भनाइअनुसार वादविवादका क्रममा चिम्टालगायतका वस्तुले प्रहार गर्दा गिरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज मा राखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


