संखुवासभाको खाँदबारीबाट ४ जनाको उद्धार
संखुवासभा । संखुवासभाको खाँदबारीबाट सहयोगापेक्षी सडक मानवका रूपमा कष्टकर जीवन बिताइरहेका ४ जनाको उद्धार गरिएको छ ।
मानवसेवा आश्रमले सञ्चालन गरिरहेको “कोशी प्रदेश सहयोगापेक्षी सडक मानव उद्धार यात्रा–२०८२” अन्तर्गत फागुन ३ गतेदेखि १६ गतेसम्म जारी अभियानका क्रममा बजार क्षेत्र तथा आसपासका स्थानबाट उनीहरूलाई सुरक्षित रूपमा आश्रमको संरक्षणमा ल्याइएको हो ।
उद्धार गरिएका व्यक्तिहरूलाई आश्रममा ल्याई प्रारम्भिक स्वास्थ्य परीक्षण, सरसफाइ, भोजन, कपडा तथा आवश्यक मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको जनाइएको छ । स्थानीयवासी र सरोकारवाला निकायको सूचना तथा सहकार्यका कारण उद्धार कार्य प्रभावकारी बनेको अभियान टोलीले जनाएको छ ।
यसै सन्दर्भमा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिनाले स्थापना भएको १३ वर्षको अवधिमा हालसम्म देशभरबाट १३ हजारभन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी सुरक्षित आश्रय, स्वास्थ्य उपचार तथा पुनर्स्थापनाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कोशी प्रदेशका हिमाली तथा पहाडी १० जिल्लामा सञ्चालन भइरहेको उक्त अभियानले असहाय तथा बेवारिसे नागरिकलाई संरक्षणमा ल्याउने लक्ष्य लिएको छ । आश्रमले सहयोगापेक्षी सडक मानव देखिएमा नजिकको निकाय वा आश्रममा जानकारी गराई मानवता प्रवर्द्धन अभियानमा साथ दिन सबैसँग अपिल गरेको छ ।-स्रोत:खांदबारी एफएम


