मोरङको सुन्दरहरैंचामा आफ्नै हातबाट श्रीमान्माथि बाम्फोक प्रहार ,श्रीमती रन्जना पक्राउ
मोरङ । दुई वर्षको वैदेशिक बसाइपछि मलेसियाबाट स्थायी रूपमा घर फर्किएका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि आफ्नै पत्नीले धारिलो हतियार प्रहार गरेको घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ। प्रहरीले घटनामा संलग्न आरोपमा उनकी पत्नी रन्जना कार्कीलाई सुन्दरहरैँचा नगरपालिका-९ बाट पक्राउ गरेको छ।
मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीका अनुसार शनिबार राति करिब १०ः३० बजे घरभित्र सुतिरहेका अवस्थामा राजनमाथि बाम्फोक (दाउ) प्रहार गरिएको थियो। उनको मुख, टाउको, हात र बायाँ कानमा गहिरा चोट लागेका छन्। गम्भीर घाइते अधिकारीको हाल नोबेल शिक्षण अस्पताल, विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार राजन फागुन ५ गते मात्र विदेशबाट फर्किएका थिए र यसपटक वैदेशिक बसाइ सधैंका लागि टुंग्याएर घर आएका थिए। वैदेशिक रोजगारीबाट फर्किएको चार दिनमै यस्तो भयावह घटना हुनु स्थानीयबासीका लागि चासो र चिन्ताको विषय बनेको छ। आरोपी रन्जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा रन्जनाले आफू एक्लैले घटना गरेको बताएकी छन्। घटनास्थलबाट प्रयोग गरिएको खुर्पा र रगतले लतपतिएको महिलाको कपडा बरामद गरिएको छ, जुन कपडा रन्जनाकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ। तर घटनास्थलको अवस्था हेर्दा उनी एक्लैले यस्तो क्रूर आक्रमण गर्न सक्ने सम्भावना कम देखिएकाले अन्य व्यक्तिको संलग्नता पनि हुन सक्ने आशंका प्रहरीको छ। घटनाको थप अनुसन्धान राजीव गिरी नेतृत्वको टोलीले गरिरहेको छ। प्रहरीले सबै कोणबाट अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने बताएको छ।

