मलेसियाबाट सधैंका लागि फर्किएका श्रीमानमाथि श्रीमतीको खुर्पा प्रहार
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। सुतिरहेका श्रीमानमाथि श्रीमतीले खुर्पा (दाउ) प्रहार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
३६ वर्षीय राजनकुमार अधिकारीमाथि ज्यान लिने प्रयास गरेको आरोपमा उनकी पत्नी रञ्जना कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शनिबार राति करिब १०:३० बजे घरभित्र सुतिरहेका अवस्थामा राजनमाथि बाम्फोक (दाउ) प्रहार गरिएको थियो। उनको मुख, टाउको, हात र बायाँ कानमा गहिरा चोट लागेको छ। गम्भीर घाइते अधिकारीको हाल नोबेल शिक्षण अस्पताल मा उपचार भइरहेको छ।
राजनकुमार केही दिनअघि मात्रै वैदेशिक रोजगारी समाप्त गरी मलेसियाबाट सधैंका लागि नेपाल बस्ने योजना बनाएर फर्किएका थिए। फागुन ५ गते घर फर्किएका उनी चार दिनमै यस्तो भयावह घटनाको सिकार बनेका हुन्।
आरोपी रञ्जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय बेलबारी को हिरासतमा राखिएको छ।
घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

