झापाको दमकमा ३ सय ५० भन्दा बढीले गरे एमाले प्रवेश
दमक । निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गर्नेहरूको लहर तीव्र बन्दै गएको छ।
झापाको क्षेत्र नम्बर ५ अन्तर्गत दमक–४ स्थित धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दल परित्याग गर्दै ३ सय ५० जनाभन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री के पी ओलीले पार्टीमा स्वागत गर्दै संगठन सुदृढीकरण र विकास अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले मुलुकको समृद्धि र स्थायित्वका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको दाबी गरे।
कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले विगतमा यस क्षेत्रको विकास एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर विकास र स्थायित्वका लागि एमाले रोजेको बताए।
यसअघि पनि रास्वपाका क्षेत्रीय नेताहरूसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू एमालेमा प्रवेश गरिसकेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट एमाले अध्यक्ष ओली उम्मेदवार रहेका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा क्षेत्रीय राजनीति थप तातेको देखिन्छ।


