धरानबाट ८७ केजी गाँजा सहित दुई युवा पक्राउ
धरान । सुनसरीको धरान–१३ निशाने डाँडामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८–००१ ख ००९६ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ८७ केजी गाँजा फेला पारेको हो।
मिति २०८२ फागुन १३ गते साँझ करिब ६:४० बजे गरिएको नियमित चेकजाँचका क्रममा बसको डिकीभित्र राखिएको २ वटा सुटकेश र २ वटा झोलाबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको सुटकेश र झोला बसमा सवार जिल्ला संखुवासभा चैनपुर नगरपालिका–११ बस्ने २४ वर्षीय रोसन सुवेदी र जिल्ला भोजपुर हतुवागढी गाउँपालिका–३ बस्ने २२ वर्षीय सुबास राईको रहेको खुलेको छ। प्रहरीले दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणमा कडाइ गर्दै चेकजाँचलाई तीव्रता दिएको बताइएको छ।


